हङकङ / याउ चिम मोङ् जिल्ला प्रहरी कार्यालय हङकङले “प्रहरी समुदाय भेला २०१६” को बार्षिकी उद्घाटन कार्यक्रममा हङकङमा रहेर नेपालीहरुको लागि बिभिन्न अभियान र कार्यक्रमहरु सञ्चालन गर्ने तीन नेपाली संस्थाहरुलाई सम्मान गरेको छ । क्वाई फङ् हलमा आयोजित कार्यक्रममा प्रहरीका उच्च पदस्थ अधिकृतहरुले नेपालीहरुको बीरता र ईमान्दारिताको सम्मान गर्दै “ग्रेटफूल एप्रिसियसन लेटर” प्रदान गरेको हो ।
विभिन्न आकर्षक प्रस्तुती सहित आयोजित कार्यक्रममा हङकङ एकिकृत नेपाली समाज (हिन्स) का अध्यक्ष बिनय शाह, एन. आर.एन हङकङका अध्यक्ष ललित आङ्बुहाङ्, हङकङ नेपाली महासंघका अध्यक्ष रिता गुरुङ्लाई उक्त सम्मानपत्र प्रदान गरिएको हो ।
हङकङमा रहेका नेपालीहरुलाई एकिकृत गर्ने र स्थानीय समाजको मूलधारमा समायोजन गर्न उदेश्य लिएर स्थापना गरिएको संस्था हिन्सले स्थापना कालको तेश्रो बर्ष सन् २००६ देखी हङकङ गृहमामिला विभागद्धारा प्रायोजित “नेपाली समुदाय सहयोग टिम” को सञ्चालन गरिरहदैं नेपाली समुदायका समस्या समाधान, सुचनामूलक जानकारी, हङ्कङको स्थानिय निकायसँग समन्वयका साथै नेपालका विभिन्न प्रकोपमा सहयोगात्मक भूमिका निर्वाह गरिरहेको छ ।